देश

रास्वपाको बन्दसूची फेरबदलमा विवाद, टासी ल्हाजोमको नाम हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि तयार पारेको बन्दसूचीमा फेरबदल गर्दै आदिवासी जनजाति महिला क्लस्टरबाट टासी ल्हाजोमको नाम हटाएको खुलेको छ । केही दिनअघि गरिएको बन्दसूची संशोधनमा उनी पहिलो नम्बरमै रहेकामा अचानक सूचीबाट हटाइनुले पार्टीभित्र र बाहिर दुवैतर्फ प्रश्न उठाएको छ ।

निर्वाचन आयोग र रास्वपा स्रोतका अनुसार बन्दसूची संशोधनको क्रममा टासीको नाम हटाइएको हो । यसको स्पष्ट कारण सार्वजनिक गरिएको छैन । तर पार्टी स्रोतले टासीसँग सम्बन्धित केही गम्भीर विवादास्पद विषयका प्रमाण प्राप्त भएपछि यस्तो निर्णय लिइएको दाबी गरेको छ ।

कानुनी प्रक्रिया र गोपनीयता

प्रचलित कानुन अनुसार उम्मेदवार स्वयंले लिखित निवेदन दिई नाम फिर्ता नलिएसम्म बन्दसूचीबाट हटाउन नमिल्ने व्यवस्था छ । यद्यपि रास्वपाले आफ्नै आन्तरिक निर्णयका आधारमा बन्दसूचीमा फेरबदल गरेको निर्वाचन आयोग स्रोतको भनाइ छ । नाम हटाइएका केही उम्मेदवार फिर्ता हुन नचाहेको अवस्थामा पनि सूचीबाट बाहिरिएका कारण संशोधित बन्दसूची अहिलेसम्म सार्वजनिक नगरिएको बताइएको छ ।

टासी ल्हाजोमले भने आफूले नाम फिर्ता नलिएको स्पष्ट पार्दै निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । यस विषयमा उनले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी आपत्ति समेत जनाएकी थिइन् ।

दोहोरिएको झट्का

लाभको पदमा पुग्नै लाग्दा टासीले झट्का खेपेको यो दोस्रो पटक हो । यसअघि उनी सुशीला कार्की नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा चर्चामा थिइन् । तर नागरिकता लगायतका विषय विवादमा परेपछि अन्तिम समयमा उनको नाम काटिएको थियो ।

यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले टासीलाई तिब्बती शरणार्थी भन्दै नेपाली नागरिकतामाथि प्रश्न उठाएका थिए । साथै, जेनजी कर्णालीले समेत उनलाई मन्त्री बनाइए बहिष्कार गर्ने चेतावनी दिएको थियो ।

रास्वपामा औपचारिक प्रवेश गरी प्राइमरी निर्वाचनमा भाग लिएकी टासीले उल्लेखनीय मत पाएकी थिइन् । जेनजी पुस्ताकी प्रतिनिधिका रूपमा हेरिएकी उनलाई बन्दसूचीमा पहिलो प्राथमिकतामा राखिएको थियो । नाम नहटेको भए उनी समानुपातिक सांसद बन्ने प्रबल सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा थियो । बन्दसूचीबाट उनको नाम हटाइएपछि रास्वपाको आन्तरिक निर्णय प्रक्रिया र पारदर्शितामाथि थप बहस सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *