काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गरेका छन् ।
लेखनकुञ्ज ‘घोष्ट राइटिङ’द्वारा प्रकाशित उक्त पुस्तकमा ८३ वर्षीय लेखक सिंहले आफ्नो जीवनको विभिन्न कालखण्डमा गरेको यात्राको वर्णनलाई कलात्मक एवं रोमाञ्चक ढङ्गबाट प्रस्तुत गरेको बताइएको छ ।
नेपालका विभिन्न भागसहित भारत, हङकङ, पाकिस्तान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, अफ्रिकी मुलुक केनियालगायत बाह्य देशमा भ्रमण गर्दाको अनुभवलाई पुस्तकमा समावेश गरिएको प्रकाशक पक्षले जनाएको छ ।
भारतको विहारमा स्कुल अध्ययन गर्दाको, उच्च शिक्षा अध्ययनसहित ३० वर्षको सरकारी सेवामा रहँदाको र सेवा निवृत्त भएपछिका दिनमा सम्हालेका अनुभवलाई समेटेर नियात्रा कृति तयार गरेको पूर्वप्रशासक सिंहले जानकारी दिए ।
पुस्तक लोकार्पण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले छ वर्षअघि पूर्वप्रशासक सिंहको पुस्तक लोकार्पण गरेको स्मरण गर्दै ८४ वर्ष पुग्नै लागेका पूर्वप्रशासक सिंहले लगातार चार वटा कृति प्रकाशन गरी आफूलाई सक्रिय लेखकका रूपमा चिनाउन सफल भएको बताए ।
सो अवसरमा नेपाल सरकारका पूर्व सचिव शम्भु कोइराला, रसियाका लागि पूर्वनेपाली राजदूत भीम उदास, नियात्रा समाजका उपाध्यक्ष इल्या भट्टराई, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाललगायत वक्ताले लेखन कलालाई उमेरले छेक्न नसक्ने धारणा व्यक्त गर्दै पूर्वप्रशासक सिंहको अनुभवसहित समग्र पक्ष समेटिएको नियात्रा सङ्ग्रह पठनीय कृति बताए ।




