काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसभित्र उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनेको छ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिट विचाराधीन रहँदै गर्दा पार्टी संगठनभित्र उम्मेदवार छनोटलाई लिएर रस्साकस्सी बढेको हो।
कांग्रेस विधानअनुसार क्षेत्रीय समितिबाटै उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार सम्भावित उम्मेदवारहरू अहिले आ–आफ्ना निर्वाचन क्षेत्र केन्द्रित भएर पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र समन्वयमा जुटेका छन्।
यसैक्रममा मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्माको नाम एकल रूपमा सिफारिस गरिएको छ। क्षेत्रीय समितिको बैठकले सर्वसम्मत रूपमा शर्मालाई उम्मेदवारका रूपमा अगाडि सारेको हो। शर्मा यसअघि पनि सोही क्षेत्रबाट एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका थिए।
पछिल्लो समय जेन–जी आन्दोलनपछि पार्टीभित्र नयाँ पुस्ताको दबाब बढेकाले कतिपय क्षेत्रमा निरन्तर चुनाव लड्दै आएका नेताहरूको नाम सिफारिसमा कठिनाइ भइरहेको कांग्रेस नेताहरूको भनाइ छ।
कांग्रेस केन्द्रीय समितिको हालैको निर्णयअनुसार मंसिर २३ भित्र प्रतिनिधिसभा क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्ला समितिमा पठाइसक्नुपर्नेछ। जिल्ला समितिले मंसिर २६ भित्र ती नाम प्रदेश समितिमा पठाउने कार्यतालिका तय गरिएको छ।
नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीले राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया सुरु भइसकेको जानकारी दिए। “केन्द्रीय समितिको सर्कुलरअनुसार क्षेत्रीय समितिहरूले बैठक बसेर नाम सिफारिस गरिरहेका छन्। तोकिएको समयमै नाम जिल्लाबाट प्रदेशमा पठाइनेछ,” उनले भने।
यदि कुनै क्षेत्रमा सर्वसम्मत नाम नटुंगिएमा कांग्रेस विधानको धारा ३३(२०) र ६९ अनुसार कम्तीमा एकजना महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको छ।
यसैबीच कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ र नेता दीपक खड्कासहितका नेताहरूले आइतबार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।




