काठमाडौं । सिन्धुलीको मरिन गाउँपालिकामा अध्यक्षले नै कार्यालयको लेखा शाखामा तालाबन्दी गरेपछि समग्र प्रशासनिक सेवा प्रभावित भएका छन्। गाउँपालिकाका कर्मचारीका अनुसार अध्यक्ष प्रख्यात मुक्तानले ‘असहयोग’ गरेको आरोप लगाउँदै लेखा शाखामा ताला लगाएका हुन्, जसका कारण दैनिक कामकाज ठप्प बनेको छ।
अध्यक्ष–उपाध्यक्षबीच मनमुटाव तीव्र
अध्यक्ष मुक्तानले केही दिनअघिदेखि लेखा शाखा ‘बखेडा सिर्जना गरिरहेको’ भन्दै उपाध्यक्ष विमला माझीसँग असन्तुष्टि व्यक्त गरेका थिए।
विवाद चुलिँदै जाँदा अन्ततः अध्यक्षले स्वयम् शाखामा ताला लगाएका हुन्। सम्पर्क प्रयास गर्दा अध्यक्ष मुक्तानले फोन नउठाए भने उपाध्यक्ष माझीले भने—“अध्यक्षको कदम अलोकतान्त्रिक छ, म प्रतिवादमा छु।” गाउँपालिकाका एक कर्मचारीका अनुसार ताला लगेपछि बिल भुक्तानी,शुल्क बुझाउने काम,दर्ता–चौपायनसहितका नियमित सेवा,सबै रोकिएका छन्। सेवाग्राही कार्यालय पुगेरै फर्किन बाध्य भएको उनीहरू बताउँछन्।
पुरानो विवादको निरन्तरता
अध्यक्ष मुक्तान पूर्व माओवादी केन्द्र ९हाल नेकपा० निकट मानिन्छन् र सांसद राजन दाहालका नजिकका व्यक्ति हुन्।
गत असारमा पनि उनले प्रक्रिया नपुगेको बिल भुक्तानीका लागि लेखा शाखामा दबाब दिएको आरोप थियो।
प्रतिवाद भएपछि लेखा अधिकृतमाथि आक्रमणको प्रयाससमेत भएको र उनी केही समय सिडिओ कार्यालयमा बसेर सुरक्षित रूपमा काम गर्न बाध्य भएका थिए।
त्यतिबेला ‘अनावश्यक दबाब नदिने’ सहमति बने पनि विवाद पुनः उब्जिँदै गएको र अहिले आएर तालाबन्दीमा परिणत भएको जनाइएको छ।
तालाबन्दी हटाउने वा विवाद समाधानको पहल अहिलेसम्म औपचारिक रूपमा गरिएको छैन। स्थानीयवासी र सेवाग्राही भने गाउँपालिकाको नियमित सेवा अवरुद्ध हुनु नेतृत्वकै गैरजिम्मेवार व्यवहारको परिणाम भएको भन्दै चर्को आलोचना गर्दै आएका छन्।




