काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयभित्र मंसिर ८ गते घटेको जेनजी युवाबीचको विवादले सरकारप्रतिको असन्तोष सतहमा ल्याएको छ। ‘काउन्सिल अफ जेनजी’का मधेश प्रदेश संयोजक शिव यादव र जनकपुरका जितेन्द्रकुमार महतोबीच मन्त्री बब्लु गुप्ताको उपस्थितिमै चर्काचर्की भएपछि मन्त्रालय केहीबेर तनावग्रस्त बनेको थियो।
शिव यादवका अनुसार महतो नेतृत्वको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नपाएपछि रोषका साथ मन्त्रालय पुगेको थियो। “सामान्य विवादलाई मारपिटजस्तै गरिएको हो,” यादवले बताए। महतोले पनि झगडा नभई कठोर भनाभन मात्र भएको प्रतिक्रिया दिए।
महतोले सरकारले जेनजीका मागलाई बेवास्ता गरेको आरोप लगाउँदै आफूहरू सिंहदरबार गएको कारण स्पष्ट पारे। उनले भने, “यो सरकार विदेशीको आदेशमा चलेको छ। पुराना पार्टीलाई पुनर्जीवित गर्न मात्र व्यस्त छ, युवाका माग एक प्रतिशत पनि पूरा भएनन्।” महतोले आफूलाई प्रधानमन्त्रीको सचिवालयबाटै मन्त्री बन्न प्रस्ताव आएको बताउँदै त्यो अस्वीकार गरेको खुलासा गरे। “वन, वातावरण वा कृषि मन्त्रालयको प्रस्ताव आएको थियो, तर सरकार दीगो लागेन,” उनले भने। सुधन गुरुङबाट पनि आग्रह आएको दाबी गर्दै उनले आफू कुनै गुटसँग नजोडिएको स्पष्ट पारे।
महतोले अब मिराज ढुंगाना समूहसँग मिलेर ठूलो आन्दोलनको तयारी पूरा भइरहेको बताए। उनीहरूको एजेन्डामा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, २०४५ यताका सम्पत्ति छानबिन र संविधान संशोधनजस्ता मुद्दा प्रमुख रहेको उल्लेख गरियो।
उनले भने, “अब मिराज ढुंगानासँग मिलेर देशव्यापी आन्दोलन छेड्छौं।”युवा समूहभित्रको विभाजन र राजनीतिक तनाव बढ्दै छ । खेलकुद मन्त्रालयमा भएको विवाद सामान्य देखिए पनि जेनजी युवाबीचको गहिरो विभाजन, सरकारमाथिको तीव्र असन्तोष र नयाँ शक्ति समायोजनका संकेतहरूले राजनीतिक तहमा थप हलचल ल्याएको छ।




