
काठमाडौं । कोशी प्रदेशका नेपाली कांग्रेसबाट निर्वाचित भएका भौतिक पुर्वाधारमन्त्री भूपेन्द्र राईले उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेल जोड्ने सडक योजनाको लामो अन्योलतापछि अन्ततः निर्माण कार्य अघि बढेको बताएका छन् । करिब ९ महिना लागेर खरिद प्रक्रिया टुंगिएपछि अहिले दुई खण्डमा सडक निर्माण कार्य प्रारम्भ भइसकेको उनले बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा एक लामो स्टाटस राख्दै यस्तो बताएका हुन् । उनका अनुसार खोटाङका नागरिकले वर्षौँदेखि धुलो–हिलोको पीडा व्यहोर्दै सडक निर्माणको माग गर्दै आएका थिए। निर्माण कम्पनीको लापरबाही र पटक–पटकको अनुरोधका बाबजुद काम अघि नबढेपछि २०७९ सालको मंसिर ७ गते गाईघाट–दिक्तेल सडक कार्यालयले ठेक्का सम्झौता रद्द गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्यो।
तर सो निर्णयविरुद्ध निर्माण कम्पनीले अदालतको ढोका ढकढक्यायो। उच्च अदालत पाटनमा मुद्दा चल्यो, जहाँ खोटाङका जनप्रतिनिधिहरूले नागरिकको पक्षबाट आवाज उठाए। अदालतले अन्ततः निर्माण कम्पनीको विपक्षमा फैसला गरेपछि पुनः नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको हो।
२०८१ सालको चैत ३ गते सिम्पानी–महुरे खण्डको सम्झौता सम्पन्न भई काम सुरु भइसकेको छ भने फोक्सिङटार–सिम्पानी खण्डको सम्झौता पनि चैत १७ गते भएको छ। दुवै खण्डको संयुक्त सर्वे सकिएको छ र निर्माण कार्य तीव्र पारिने तयारी छ।
यो परियोजना ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ। स्रोत सुनिश्चितता, मन्त्रालयस्तरीय सहमति र अदालतको निर्णयपछि बल्ल निर्माणले गति लिएको हो।
स्थानीयको भनाइमा, अब हामी चेति सकेका छौं, चेत्न बाँकी केही छैन। यस्तो अवस्था पुनः नदोहोरियोस्, दोहोरिन दिनुहुँदैन। योजना समयमै सम्पन्न भए खोटाङबासीको लामो यातायात समस्या समाधान हुने विश्वास गरिएको छ।