
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा आज पनि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए ।
तर, सबै वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि लामिछानेलाई फेरी हिरासत पठाइएको छ ।
अब लामिछानेको मुद्दाको अर्को सुनुवाइ बुधवार मात्रै हुनेछ । भोली मंगलबार सार्वजनिक बिदा भएकाले उनको अर्को सुनुवाइ बुधवार मात्रै हुने भएको हो ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।
लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
रास्वपा सभापति लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।