अर्थ

जुम्ली स्याउको माग बढ्दै, भारत निर्यातबाट ४१ करोड आम्दानी

कर्णाली। जुम्लामा उत्पादन हुने स्याउको नेपाली तथा भारतीय बजारमा माग बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा जुम्लामा एक करोड ८२ लाख ४५ हजार किलो स्याउ उत्पादन भएको थियो ।

उत्पादित स्याउमध्ये करिब ७० प्रतिशत नेपाली बजारमा खपत भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार सो अवधिमा एक करोड २६ लाख ५४ हजार किलो स्याउ नेपाली बजारमा बिक्री भएको थियो ।

उत्पादनको करिब ३० प्रतिशत अर्थात् ५५ लाख ९१ हजार किलो स्याउ भारत निर्यात गरिएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

भारतमा निर्यात गरिएको स्याउबाट गत वर्ष जुम्लाले ४१ करोड ३७ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको थियो । प्रतिकिलो ७४ रुपैयाँका दरले स्याउ बिक्री भएको अधिकारीले बताए ।

भारतमा जुम्लाको स्याउलाई ‘पहाडी चिसो स्याउ’का रूपमा उपभोक्ताले रुचाउने गरेको उनले जानकारी दिए ।

भारतमा स्याउको माग बढ्दै गएपछि कृषि विकास कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ८० करोड रुपैयाँ बराबरको स्याउ भारत निर्यात गर्ने लक्ष्य राखेको छ । त्यसका लागि दुई करोड ७० हजार किलो स्याउ उत्पादन गर्ने लक्ष्यसहित स्याउखेतीलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।

स्याउका दाना हेर्दा आकर्षक नदेखिए पनि स्वादमा गुलियो भएकाले नेपाली तथा भारतीय बजारमा ‘जुम्ली स्याउ’को माग बढ्दै गएको अधिकारीले बताए ।

जुम्लामा हाल करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गर्ने लक्ष्य राखिएको छ ।

उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले गत पुसदेखि माघसम्म जिल्लाका ८०० किसानको स्याउ बगैँचा काटछाँट गरिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

“यसबाट स्याउका दाना ठूला, पोटिला, स्वादिष्ट, आकर्षक रङका हुने तथा किसानले उचित मूल्य पाउने अपेक्षा गरेका छौँ,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *