काठमाडौं। मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा निक्षेप, कर्जा विस्तार, बजार हिस्सा तथा ग्राहक सेवामा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बैंकले आफ्नो व्यावसायिक आधार थप सुदृढ बनाएको छ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ५ खर्ब ३ अर्ब रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षको हालसम्म ६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १ खर्ब २३ अर्ब रुपैयाँ (२४ प्रतिशत) ले बढी हो। यससँगै बैंकको निक्षेप बजार हिस्सा ७.५९ प्रतिशत पुगेको छ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। आव २०७८/७९ मा बैंकको कर्जा बजार हिस्सा ४.८१ प्रतिशत रहेकामा चालु आवको चैतसम्म ५.७४ प्रतिशत पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए।
उनका अनुसार समग्र अर्थतन्त्रमा कर्जाको माग सुस्त रहे पनि बैंकले चालु आवको तेस्रो त्रैमाससम्म १३.२६ प्रतिशत वार्षिक कर्जा वृद्धि हासिल गरेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूको औसत कर्जा वृद्धि ७.४३ प्रतिशत मात्र रहेको उनले बताए।
बैंकले वित्तीय सूचकमा पनि सुधार गरेको जनाएको छ। चैत मसान्तसम्म बैंकको प्रतिशेयर किताबी मूल्य ३५१ रुपैयाँ ९८ पैसा पुगेको छ भने प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा कायम भएको छ। सोही अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
निष्क्रिय कर्जाको अवस्था पनि उद्योगको औसतभन्दा राम्रो रहेको बैंकले जनाएको छ। समग्र बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहेकामा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत रहेको छ। खराब कर्जा थप घटाउन रणनीतिक योजना अनुसार काम भइरहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए।
हाल बैंकले देशका सातै प्रदेश र ७७ जिल्लामा ३१६ शाखा कार्यालय, ३३४ एटिएम, एक लाख ४७ हजार क्यूआर मर्चेन्ट, २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।
बैंकले हालै केयर रेटिङ्स नेपालबाट आफ्नो संस्थागत साख मूल्याङ्कन ‘ए प्लस’ पुनः पुष्टि भएको उल्लेख गर्दै यसले बैंकप्रतिको विश्वास अझ सुदृढ भएको जनाएको छ। साथै, देशकै सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक राष्ट्रियस्तरमा सम्मानित भइसकेको पनि बैंकले जनाएको छ।




