भद्रपुर (झापा)। औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ। झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ।
झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईका अनुसार जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानलाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उद्योग, व्यापार, कृषि, पशुपन्छी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सबलीकरण, व्यावसायिक विस्तार र निकासीयोग्य वस्तुको प्रवर्द्धनमा जोड दिइएको उनले बताए।
महोत्सव स्थलमा १३० वटा स्टल निर्माण गरिएको छ। ती स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री, विभिन्न कम्पनीका अटोमोबाइल, कृषि औजार, बीउबीजन, मलखाद, जडीबुटी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा गार्मेन्ट सामग्री, जुत्ता–चप्पल, गलैँचा तथा पस्मिना, सौर्य ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, फर्निचर तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा बिक्री हुने संयोजक राईले जानकारी दिए।
महोत्सवलाई थप आकर्षक बनाउन सेल्फीजोन, मनोरञ्जनात्मक खेलतमासा, स्थानीय तथा राष्ट्रियस्तरका साङ्गीतिक र हास्यव्यङ्ग्य कार्यक्रम, स्थानीय गीत–नृत्य, सांस्कृतिक प्रस्तुति, बालउद्यान तथा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनको व्यवस्था गरिएको छ। महोत्सव अवधिमा विभिन्न खेलकुद कार्यक्रमसमेत आयोजना गरिनेछ।
आयोजकका अनुसार महोत्सव अवधिमा कम्तीमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने र एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सफल बनाउन व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार तथा अनुगमनका लागि नौ वटा उपसमिति गठन गरी काम भइरहेको सङ्घले जनाएको छ।




