काठमाडौं। भारतको केन्द्रीय बैंकले नेपालमा भारतीय ठूला नोट प्रयोगसम्बन्धी प्रतिबन्धमा लचिलो व्यवस्था लागू गरेको छ। यसअघि नेपालमा उच्च मूल्यका भारु नोट प्रयोगमा कडाइ थियो। भारतीय रिजर्भ बैंकले ‘विदेशी मुद्रा प्रबन्ध (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली २०२५’ जारी गर्दै भारतबाहिर नेपाल र भुटानमा भारतीय नोट ल्याउन र लैजान सकिने सीमा संशोधित गरेको हो।
संशोधित नियम अनुसार, भारतबाहिर नेपाल वा भुटान जानेले १०० भारु भन्दा माथिका नोट २५ हजार भारुसम्म लैजान सक्नेछन्। त्यसैगरी नेपाल वा भुटानबाट भारतमा भारतीय नोट १०० भारु भन्दा माथिका नोट २५ हजार भारुसम्म ल्याउन सकिने व्यवस्था गरिएको छ।
यसरी नेपाल र भुटानका नागरिकले अब भारतीय नोट सहज रूपमा ल्याउन र लैजान सक्ने भएका छन्। तर, पाकिस्तान वा बंगलादेशका नागरिकहरूलाई यो सुविधा दिइएको छैन। नेपाल राष्ट्र बैंकले पनि यसैअनुसार कार्यान्वयन गर्ने तयारी गरेको छ। यसबाट भारत जाने र फर्कने पर्यटक तथा श्रमिकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।




