जुम्ला। सिञ्जा गाउँपालिकाले आफ्ना कृषि उद्यमी तथा व्यवसायमा इच्छुक बेरोजगार युवालाई राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सरल कृषि कर्जामा ब्याज अनुदान दिने भएको छ।
गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार यस कार्यक्रमले कृषक समूह तथा सहकारी संस्थालाई सहज रूपमा बैंकबाट कर्जा प्राप्त गरी ब्याजमा अनुदान प्रदान गर्नेछ। १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायी फार्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित आवेदन दिन सक्नेछन्।
बैंकको कृषि कर्जा निर्देशिका, २०६९ (संशोधनसहित) अनुसार कर्जा अवधिक र चालु पुँजी दुवै प्रकृतिको हुनेछ। अधिकतम रु १० लाखसम्मको कर्जा १० वर्ष अवधिका लागि प्रदान गरिनेछ। यसमा आधार दरमा पाँच प्रतिशत प्रिमियम जोडी ब्याजदर तोकिएको छ भने गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई १ प्रतिशत ब्याज अनुदान दिनेछ।
सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताए अनुसार, यस कर्जाले कृषिउपजको व्यावसायिक उत्पादन बढाउने, आयआर्जन वृद्धि गर्ने, आयात प्रतिस्थापनमा योगदान गर्ने तथा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। सहभागी हुन इच्छुक युवाले नागरिकता प्रतिलिपि, वडाको सिफारिस, गाउँपालिकाको सिफारिस, व्यवसायिक योजना तथा जग्गाधनी प्रमाणपत्रसहित आवश्यक कागजातहरू बुझाउनुपर्नेछ।




