अर्थ

मुद्रास्फीति सुस्त गतिमा, पहिलो त्रैमासमा मूल्यवृद्धि १.४७ प्रतिशत

काठमाडौं । यस आर्थिक वर्षको पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति उल्लेखनीय रूपमा घट्दै १.४७ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले मुद्रास्फीति दबिएका कारण बजारको समग्र मूल्यस्तर अत्यन्तै सुस्त गतिमा चलेको देखाउँछ।

सबैभन्दा ठूलो प्रभाव खाद्य तथा पेय पदार्थ समूहमा परेको छ। यो समूहको मूल्य २.५४ प्रतिशतले ऋणात्मक भएको छ, जसको अर्थ भान्सा खर्च अघिल्लो वर्षभन्दा झनै सस्तो भएको हो। तर गैरखाद्य तथा सेवा समूहमा भने ३.८० प्रतिशत वृद्धि भएको छ। विशेषज्ञहरूका अनुसार अत्यन्त कम मुद्रास्फीति अर्थतन्त्रको सुस्तीको संकेत पनि हो।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ७.२० प्रतिशत र गैरखाद्य ३.४९ प्रतिशत थियो। यस वर्ष भने औसत त्रैमासिक मुद्रास्फीति १.६७ प्रतिशतमा झरेको छ, जुन गत वर्षको ४.२६ प्रतिशतभन्दा निकै कम हो।

खाद्य समूहभित्र घ्यु–तेलको मूल्य ७.७५ प्रतिशतले बढेको छ भने गैर–मदिराजन्य पेय पदार्थ ३.७१ प्रतिशत र माछा–मासु ३.१५ प्रतिशतले महँगिएको छ। तरकारी उपसमूहमा १५.६३ प्रतिशतको ठूलो गिरावट छ, मरमसला ७.८२ प्रतिशत र दाल–गेडागुडी ४.४१ प्रतिशतले सस्तो भएको छ।

गैरखाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडा तथा जुत्ता–चप्पलको ६.२९ प्रतिशत र सुर्तीजन्य वस्तुको ४.८४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। बीमा तथा वित्तीय सेवाको मूल्य भने ०.२३ प्रतिशतले घटेको छ।

भौगोलिक हिसाबले ग्रामीण क्षेत्रमा मुद्रास्फीति १.२९ प्रतिशत र शहरी क्षेत्रमा १.५३ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै मुद्रास्फीति कोशी र हिमाल क्षेत्रमा (२.३३ प्रतिशत) देखिएको छ, जबकि सुदूरपश्चिममा मात्र ०.६९ प्रतिशत मुद्रास्फीति दर्ज छ।

अन्तरक्षेत्रीय रूपमा काठमाडौं उपत्यकामा १.४३ प्रतिशत, तराईमा १.२९, पहाडमा १.५० र हिमाली क्षेत्रमा २.३३ प्रतिशत मुद्रास्फीति देखिएको छ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Month-data-of-2082.83

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *