अर्थ

इलाममा वर्षाले पाक्न लागेको धानबाली नष्ट, सयौँ किसान चिन्तित

फिक्कल (इलाम)। इलाममा अविरल वर्षाले पाक्न लागेको धानबालीमा व्यापक क्षति पुर्‍याएको छ । गत कात्तिक १३ देखि १५ गतेसम्म परेको वर्षाले जिल्लाका सबै पालिकाका खेतबारीमा असर पुर्‍याएपछि किसानहरू गम्भीर चिन्तामा परेका छन् ।

माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारका अनुसार निरन्तरको वर्षाले उनीहरूको प्रमुख बाली धान ढलेर सोतर भएको छ । “१५ रोपनीमा लगाएको सारा धान जमिनमै ढल्यो,” उनले दुःखेसो गर्दै भने, “धान ढलेर सोतर भएपछि परिवारको वार्षिक आम्दानीमा ठूलो घाटा हुने भयो ।”

अर्का किसान आइन्द्र योङहाङले पनि खेतका करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको बताए । उनका अनुसार वर्षाले खेतभित्रका धान पूरै जमिनमै मिलाइदिएको छ । “धान भित्र्याउने बेला यस्तो वर्षा आउँदा हामी किसान ठगिएका छौँ,” उनले भने, “बेला न कुबेला आएको पानीले सबै मिहिनेत खेर गयो ।”

फाकफोकथुम गाउँपालिकाका किसान पनि उस्तै समस्यामा परेका छन् । फाकफोकथुम–७ का पञ्च योङहाङले लगातारको वर्षाले खेतका सबै धान भाँचिएर जमिनमा मिलेको बताए । “हिउँदमा समेत बर्खाजस्तै वर्षा भएपछि हाम्रो धानबाली पूरै नष्ट भयो,” उनले भने, “अहिले खेत हेर्‍यो भने मन नै पोल्छ ।”

इलामका तल्लो क्षेत्रका किसानहरू अहिले सबैभन्दा बढी प्रभावित भएका छन् । चुलाचुली गाउँपालिका, माई नगरपालिका, माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउदेमाई, इलाम तथा सूर्योदय नगरपालिकाका तल्लो भूभागमा व्यापक क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

माई नगरपालिका र रोङ गाउँपालिकाका किसानहरूले मुख्यतः सावित्री र रञ्जित जातका उन्नत धानखेती गर्ने गर्छन् भने अन्य क्षेत्रमा रैथाने जातका बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायतका जातका धानखेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीका अनुसार जिल्लामा हाल करिब १४ हजार ८१५ हेक्टरमा धानखेती हुने गर्छ । “यो पटक वर्षाले क्षतिको दायरा ठूलो बनाएको छ,” अधिकारीले भने, “पाक्ने समयमा आएको वर्षाले उत्पादनमा ठूलो गिरावट आउन सक्छ ।”

स्थानीय किसानहरूले तत्काल क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *