अर्थ

भोजपुरमा निरन्तर वर्षाले खेतमै सड्न थाल्यो धान, किसान चिन्तित

भोजपुर। निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा ठूलो क्षति पुगेको छ। काटिसकेको धान थन्काउन नसकिँदा खेतमै कुहिन थालेको र नकाटिएको धान पनि लडेर सखाप भएको किसानहरूले बताएका छन्।

पौवादुङ–२ का किसान राजन ढकालले भने, “धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ। बिटा लगाएर काटेको धान खेतमै कुहिन थालेको छ। नकाटिएको धान पनि लडेर सखाप भएको छ। यस्तो अवस्था रह्यो भने परिवार पाल्न गाह्रो हुने स्थिति छ।”

ढकालका अनुसार निरन्तर वर्षाले धान मात्र होइन, पशुपालनका लागि राखिने परालमा समेत असर परेको छ। स्थानीय किसान रुपनारायण फुयाँलले भने, “हामीले वर्षभरको मेहनत गरेका थियौँ, तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो। खेतमै धान सड्न थालेको छ, उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ।”

किसानहरूले लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन नसकिएको र त्यसले आर्थिक तथा मानसिक दुबै रूपमा असर गरेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *