अर्थ

७६ अंक बढेको नेप्से २१७७ विन्दुमा, कारोबार रकम ३ अर्बमाथि

काठमाडौं । मंगलवार नेप्से परिसूचक ७६ दशमलव ६४ अंक बढेको छ । यस दिन परिसूचक २ हजार १७७ दशमलव ३४ विन्दुमा पुगेको हो ।

कारोबारमा आएका २६० धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर ५९ हजार ९२७ पटकमा रू. ३ अर्ब ३६ करोड बराबरको शेयर कारोबार भएको छ ।

विगत केही दिनदेखि घटेको बजारमा पुन: लगानीकर्ता खरीदतर्फ आकर्षण भएका देखिन्छन् । आज छोटो समयमै बजार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । प्रोफिट बुक गरी बसेको लगानीकर्ताले बजार घटेसँगै खरीदतर्फ आकर्षित हुँदा बजार बढेको देखिन्छ ।

सोमवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् । उक्त प्रतिवेदनमा शोधनान्तर बचतको अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स लगायतका सूचकहरूमा सुधार भएको उल्लेख छ ।

पछिल्लो समय बैंकमा तरलता अवस्थामा सुधार हुँदै गएको छ । सीडी रेसियो, अन्तर बैंक ब्याजदर लगायतका सूचकहरू निकै तल आइसकेका छन् । यी कारणले गर्दा अब बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको भनाई छ । बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीमा परेको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै मंगलवार आईसीएफसी फाइनान्सको आईसी एफसीडि ८३ नामक ऋणपत्रको मूल्य ५ दशमलव ९० प्रतिशत घटेको छ । ऋणपत्र मूल्य रू. १ हजार १२ दशमलव २० कायम भएको हो । ऋणपत्रको मूल्य घट्ने सूचीको दोस्रोमा एभरेष्ट बैंकको यीबिएलडि ८६ छ । उक्त ऋणपत्रको मूल्य १ दशमलव ९५ प्रतिशत घटेर रू. ७३० दशमलव १० कायम भएको छ ।

आज सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू. १२ करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ८३५ कायम भएको छ ।

यो सूचीमा दोस्रोमा ङादी ग्रुप पावर कम्पनी छ । उक्त कम्पनीको रू. ११ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो ।

सबैभन्दा बढी लगानी समूहको परिसूचक ६ दशमलव २५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको ५ दशमलव ०७ प्रतिशत, वित्त समूहको ५ दशमलव ९४ प्रतिशत र हाइड्रोपावर समूहको ५ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *