विश्व

फेरि काममा फर्किए २४ घण्टामै राजीनामा दिएका श्रीलङ्काका अर्थमन्त्री

कोलम्बो । यसै साताको सुरुमा अर्थमन्त्रीमा नियुक्त भई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई गत सोमबार राष्ट्रपति गोताबाय राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए । यद्यपि सबारीले एक दिनपछि राष्ट्रपतिलाई राजीनामा बुझाएका थिए तर राष्ट्रपतिले यसलाई स्वीकृत भने गरेका थिएनन् । शुक्रबार संसद्मा बोल्दै उनले अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अरू कसैले अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपतिले राजीनामा स्वीकृत गर्न नमानेपछि अर्थमन्त्रीका रूपमा आफ्नो कामलाई निरन्तरता दिने उनले बताएका छन् । सबारीले भने, ‘जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रूपमा रहन र आवश्यक काम गर्न तयार छु ।’

श्रीलङ्कामा आर्थिक सङ्कट, घण्टौं लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध
यसैबीच आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलङ्काको एउटा अदालतले हालै राजीनामा दिएका केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोलम्बोस्थित एक अदालतले सोमबार राजीनामा गरेका अजिथ काबराललाई उनीविरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो । राष्ट्रपति राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका काबराल श्रीलङ्काको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय सङ्कटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले बताए ।

टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा यस संस्थाको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’ का लागि जिम्मेवार भएको अदालतमा बताएका थिए । उनी गत वर्षको सेप्टेम्बरमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *