काठमाडाैँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबले बिहीबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको अवस्थामा अर्थतन्त्र भयावह अवस्थामा नपुगेकाे र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए ।
प्रवक्ता डा. गुणाकर भट्टले नेपालको मुद्रा स्फिति बढेकाे बताए । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो र नेपालमा कति रकम बाहिरबाट आयो ? भन्ने कुरा हेर्दा शोधनान्तर स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए ।
भट्टले गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको जानकारी दिए । औषधिलगायतका अत्यावश्यक वस्तु आयात गर्न पनि विदेशी विनिमय सञ्चिति जतन गर्नुपर्ने उनको भनाई छ ।
अहिलेको मूल्यवृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको र विदेशी विनिमय सञ्चितिमा चनाखो हुनुपर्ने उनले बताए ।




