काठमाडौं। देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ–संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धि तालिम आयोजना हुन लागेको हो ।
तालिम धेरैजसो ठाउँमा निःशुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर सेयर बजार सम्बन्धि तालिम संचालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताएका छन् ।
अभियान अन्तर्गत रुकुम, बिराटनगर, धरान, दमक, चितवन, जनकपुर, बीरगंज, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको हो । सो तालिममा तालिमकर्ताको रुपमा सेयर बजारका पूराना तथा अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषक सुबास चन्द्र भट्टराई रहनेछन् भने कार्यक्रमलाई स्थानीय संघ संस्थाले सहआयोजना गर्नेछन् ।




