हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ ।
टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा कम्पनीले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले चार महिना बित्दा समेत चामल ढुवानी हुन नसकेको बताइएको छ ।
हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी कोटा स्वीकृत भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि सबै जहाज कम्पनीले चामल ढुवानीलाई तीव्रता दिएका छन् । अहिलेसम्म एक हजार ३४२ क्विन्टल चामल हवाईमार्ग र एक हजार १३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि आएको चामलबाट अहिलेसम्म १२ सय ७३ क्विन्टल चामल वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष कम्पनीको गोदाममा करिब ३५ सय क्विन्टल चामल मौज्दात थियो । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीको शाखा कार्यालयले जनाएको छ । कम्पनीले सिमकोट बजारस्थित सिमकोट–५ र ६ का स्थानीयवासीलाई मासिक प्रतिपरिवार ५ किलो र सिमकोट गाउँपालिकाका अरू वडाका बासिन्दालाई ४ किलोका दरले चामल वितरण गर्ने गरेको छ । अन्य गाउँपालिकामा भने मागका आधारमा चामल पठाइने गरिएको बताइएको छ ।
सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम चामल ढुवानी भएको भन्दै मुख्यमन्त्री शाहीले सबै जहाज प्रयोग गर्न ठेकेदार कम्पनी र कम्पनी लिमिटेडलाई निर्देशन दिएका थिए । तर कम्पनीको हुम्ला शाखाको गोदाममा चामल मौज्दात कम भएपछि शुक्रबारबाट चामल वितरण रोकिएको छ । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीका हुम्ला कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले बताएका छन् । “स्थानीयवासीले कोटाअनुसारकै चामल माग्न थाले”, उनले भने, “कोटाअनुसार चामल दिँदा गोदाम रित्तिने देखियो ।”
चार महिनापछि बल्ल चामल वितरण गरेको भएपनि स्थथानीयवासीले एक महिनाको मात्रै चामल पाउने भएका छन् । कम्पनीको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि यहाँका सर्वसाधारणलाई बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो ।




