अर्थ

झोलुङ्गे पुल हेर्नेको लामो लर्को

महोत्तरी । सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।

“मधेसमा झोलुङ्गे पुल त्यति बन्दैनन् नि ! त्यसैले नौलो लागेर पनि हेर्न आउने बढेका हुन्”, नगरपालिकाका उप प्रमुख शिवोदेवी साह भने, “थपमा हिँडडुल सहजताको खुशी पनि सर्वसाधारणमा देखिएको हो ।” मटिहानी नगरपालिकाको मुख्य बजार मटिहानीबाट धिरापुर आउन–जान भइरहेको कठिनाइलाई नवनिर्मित पुलले चिरेको छ । नदीवारि मुख्य तरकारी बालीको पकेट क्षेत्र मानिने मटिहानीको धिरापुरबाट अब उत्पादित फसल बजार पुर्याउन सहज भएको किसान बताउँछन् । खासमा मटिहानी बस्तीतिरका थुप्रै किसानको जग्गा बिग्हीपारि धिरापुरतर्फ हुँदा पुल नभएर खेतीपाती हेर्न नै असुविधा खेप्दै आएका किसानले अब राहत महसुस गरेका छन् ।

“यो झोलुङ्गे पुल नयाँ कुरा लागेर मात्र हेर्ने भीड देखिएको होइन” मटिहानी–६ मटिहानी बस्तीका किसान नूरमोहम्मद राइन भने, “घर–खेत आउन जान एवं फसल र बजार जोड्न पुलले ठूलो काम गर्यो, आम किसान यो खुशी साट्न पुल सञ्चालन भएको हेर्न आएका हुन् ।” सोमबार दिउँसो नगरप्रमुख हरिप्रसाद मण्डलले झोलुङ्गे पुल उद्घाटनको क्रममा रिबन काट्दै गर्दा सर्वसाधारणले जयजयकारको नारा लगाएका राइनले बताएका छन् ।

नेपाल सरकारको सशर्त अनुदान र मटिहानी नगरपालिकाको गरी रु ५२ लाखको लागतमा झोलुङ्गे पुल तयार भएको हो । यो पुल ३२ मिटर लम्बाइ र एक दशमलव पाँच (१।५) मिटर चौडाइको रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिएका छन् । झोलुङ्गे पुलमा हिँड्दा लच्कने भएको हुँदा किशोरवय र सो उमेरमा टेक्दै गरेका बालबालिकालाई थप रमाइलो बनेको शर्माको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *