समाचार

एक युवाले जन्मदिनको खर्च विपन्न विद्यार्थीलाई

बलेवा । जन्मदिनमा हुने खर्च कटाएर यहाँका एक युवाले विपन्न विद्यार्थीको लागि शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तथा नेपाल भलिबल सङ्घ जापानका सदस्य तुलवीर थापाले गलकोट नगरपालिका–७ मल्ममा रहेको जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालयमा अध्ययनरत छ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

मल्म स्थायी घर भएका थापाले रु २० हजार मूल्यको शैक्षिक सामग्री सहयोग गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिएका छन् । तुलवीरले विद्यार्थीलाई कपी, कलमसहित शैक्षिक सामग्री सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी, विपन्न विद्यार्थी लभिसा खड्कालाई शैक्षिक सामग्री प्रदान गरेका विद्यालयका सहायक प्रधानध्यापक भविन्द्र गौतमले जानकारी दिएका छन् ।

त्यस्तै तुलवीरले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस, विपन्न विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुलबहादुर थापाले जानकारी दिएका छन् । उक्त शैक्षिक सामग्री गलकोट –७ का वडा सदस्य लोकबहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्तरूपमा विद्यार्थीलाई हस्तान्तरण गरेका छन् । सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालय मल्मका अक्षयकोषकर्ता, सहयोगी एवं पूर्व विद्यार्थीसमेत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *