अर्थ

पाइप बगाउदा बैतडी सदरमुकाममा खानेपानी अभाव

बैतडी । वर्षाका कारण आएको बाढीले पाइप बगाउदा बैतडी सदरमुकाममा खानेपानी अभाव भएको छ । यही कात्तिकको पहिलो साता परेको पानीले खानेपानीको संरचनामा क्षति पुर्याएको थियो ।

दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको त्यहाँका बासिन्दाले बताए । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । सदरमुकामबाट झण्डै छ किलोमिटर टाढा रहेको माडखोलाको मुहानमा पहिरो जानाका साथै पाइपमा वर्षाले क्षति पुर्याएकाले खानेपानीको समस्या भएको स्थानीयवासी प्रकाश चन्दले बताए ।

खानेपानीको समस्या भएको हप्ता दिन भइसक्दासमेत कुनै सुनुवाइ भएको छैन । उनले भने,“सदरमुकाममा आउने पानी बन्द हुँदा टाढाबाट बोकेर ल्याउनुपर्छ, एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता छ। ”

खानेपानी अवरुद्ध हुँदा सदरमुकामका होटल व्यवसायीलाईसमेत समस्या भएको छ । व्यवसायी अम्बादत्त भट्टका अनुसार खानेपानी नै नहुँदा व्यापार व्यवसाय गर्न निकै सकस भएको छ । पानीको अभावमा शौचालय प्रयोग गर्न पनि समस्या भएको छ ।

बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले खानेपानी सञ्चालन गर्न अझै एक दुई दिन लाग्ने बताए । मुहानमा ठूलो पहिरो गएको छ, ठाउँठाउँका पाइप भाच्चिएका छन् । उनले भने, “वर्षाले व्यापक क्षति पु¥याएको छ, हामी पुनः सञ्चालन गर्न लागिरहेका छौँ, एकदुई दिनमै हुन्छ होला ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *