अर्थ

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

लुम्बिनी । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताए । उनले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिएका हुन् ।

बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरिद गर्न सकिने र कार्डको पिन÷पासवर्ड सुरक्षित राख्न किसानलाई आग्रह गरेका छन् । उनले एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिनाका साथै राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने बताए ।

बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने र केही हदसम्म एमपिओसले बैंकको काम गर्ने जानकारी दिएका छन् ।

बैंकअन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडि बढाउन आग्रह गरेका छन् । उनले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *