भोजपुर । करको दायरामा आउने करदाताका सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करका दायरामा आउनेका सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८ मा १४ करोड १३ लाख ६६ हजार राजस्व सङ्कलन भइसकेको र कर तिर्न आउनेको सङ्ख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रुपक न्यौपानेले जानकारी दिएका छन् ।
उनले भने, ‘‘कार्यालय स्थापना भएर यहीँबाट सेवा सञ्चालनमा आएपछि करको दायरामा आउने मानिसको सङ्ख्या उल्लेख्य रहेको छ । यो आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र रु तीन करोड राजस्व सङ्कलन भएको छ ।’’
कार्यालय स्थापना हँुदाका अवस्थामा तीन हजार ८९३ करदाता रहेकामा एक वर्षका अवधिमा दुई हजार ३२१ नयाँ करदाता थपिएर अहिले छ हजार २१४ पुगेको उनले बताए ।
‘‘करदाताको सङ्ख्या झण्डै ५० प्रतिशतले बढेको छ । यो यही कार्यालय स्थापना भएको सकारात्मक प्रभाव पनि हो । हुन त अन्य ठाउँको तुलनामा खासै ठूलो रकम त होइन यद्यपि यहाँको बजारको अवस्था, भूगोल, जनसङ्ख्या, उद्योग व्यवसायलाई हेर्दा यो धेरै ठूलो उपलब्धि हो ।’’कर अधिकृत न्यौपानेले भने,‘‘ हामीले करसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । सेवाग्राहीको कामलाई छिटोछरितो बनाउँदै काममा प्रभावकारिता कायम गरिरहेका छौँ । जसको कारण पनि करदाताको सङ्ख्या दैनिक रुपमा थपिँदै गएको अवस्था छ । कार्यालय स्थापनाको एक वर्ष पनि पुगेको छैन, त्यसैले केही वर्षपछि यसमा अझ विकास हुने अवस्था छ ।’’
हालसम्म आयकर रु नौ करोड ६८ लाख ३२ हजार, घर बहाल कर रु एक करोड २४ लाख ७२ हजार, ब्याज कर रु आठ लाख २५ हजार, मूल्य अभिवृद्धि कर रु छ करोड २२ हजार र अन्त शुल्क रु १८ लाख ५४ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।
जिल्लामा कार्यालय स्थापना भएपछि जिल्ला सेवाग्राहीलाई सेवा लिन सहज भएसँगै करको दायरामा आउनेको सङ्ख्या दिनानुदिन बढी रहेको कार्यालयको भनाइ छ । विगतका दिनमा कार्यालय नहुँदा कर तिर्नको लागि तीन दिन लगाएर धरान धनकुटा पुग्नुपर्ने बाध्यता थियो ।
गतवर्षको असोज महिनामा यहाँ नै कार्यालय स्थापना भएपछि स्थानीयवासीको त्यो अवस्था अन्त्य भएको छ । स्थानीय आङलाक्पा लामाले भने,‘‘ ढिलै भए पनि जिल्लामा कार्यालय स्थापना भएको छ । विगतका दिनमा चार दिनसम्म लगाएर कर तिर्न गएको तितो अनुभव छ । तर अहिले आफ्नै जिल्लामा कर तिर्न पाउँदा निकै खुशी लागेको छ । यसले हामी जस्ता सर्वसाधरणलाई निकै ठूलो सेवा पुगेको छ ।’’
कार्यालय आसपासमा बैंकका शाखा नभएकाले बंैकमार्फत राजस्व भुक्तानी गर्न केही झन्झट भएकोले नजिकै बैंकको शाखा स्थापान गर्नु पर्ने उनीहरुको माग छ । कार्यालय स्थापना भए पनि कर तिर्नमा स्थानीयवासी जागरुक भएको कार्यालयको भनाइ छ । साना करदाताले असोज समान्तसम्म कर बुझाउन सक्ने कार्यालयले जनाएको छ । साना व्यवसायीलाई कर तिर्न, स्थायी लेखा नम्बर लिनेलगायतका काम गर्न सहज भएको छ ।
करदाता सेवा कार्यालयमा अनलाइन सेवासमेत सञ्चालन भएकोले २० लाखसम्मको कारोवार गर्ने निजी फर्म तथा उद्यमीले घरबाटै कर तिर्न सक्नेसमेत कार्यालयले जनाएको छ ।




