अर्थ

घरभाडा र बैंक ब्याज छुट पाउनु पर्ने व्यावसायिको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधीलाई शून्य समय मान्नको लागि सरकारसँग अनुरोध गरेको छ । उक्त अवधीभरीको घर/गोदाम तथा सटर भाडाको लागि विषम परिस्थितिलाई हृदयांगम गर्दै भाडाका लागि व्यवसायीहरुलाई प्रेसर नगर्न अनुरोध गरेको छ । साथै आर्थिक क्रियाकलाप स्थिर रहेको सो अवधीभरको वैंक तथा वित्तीय संस्थाको व्याज छुट पाउनुपर्ने माग गरेको छ । र स्थानीय सरकारलाई सहजीकरण गरिदिनका लागि समेत अनुरोध गरेको छ ।

शुक्रवार राजधानीस्थित 24 अनलाइन न्युजको सभाहलमा नेपाल व्यावसायि महासंघको पूर्ण कमिटिको बैठकले लकडाउनमा व्यावसायिक क्रियाकलाप पूर्ण रुपमा प्रभावित भएको, पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गर्ने निर्णय गरेको हो ।

महासंघले शुक्रबारको बैठकको निर्णय बमोजिम शनिबार एक विज्ञप्ती जारी गर्दै ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेको  निष्कर्ष निकालेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस्तो बेलामा आम उद्योगी–व्यावसायिका लागि सटर भाडा मुख्य चुनौतीका रुपमा देखा परेको छ । लामो समय आफ्नो व्यावसाय/प्रतिष्ठान बन्द राख्नु परेका कारण आम्दानी हुने अवस्था रहेन । यसर्थ लकडाउन अवधीभरको भाडा मिनाह गरिदिनुहुन आम देशभरका घरधनी महानुभावलाई अनुरोध गर्दछ ।”

अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मुख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केही दिनको मात्रै नभई लकडाउन अवधिभर पूरैको घरभाडा मिनाहा गर्नुपर्ने बताएको छ ।

महासंघको शुक्रबारको बैठक र शनिबारको विज्ञप्तीका विषमा जानकारी दिँदै नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष रामशरण गिरीले द्दद्ध अनलाइन न्युजलाई भने “सरकारले यदी लकडाउनको अवधीलाई शुन्य समय मान्दैन र व्यवसाय र व्यवसायीका समस्या सम्बोधन गर्दैन भने सम्पूर्ण व्यवसाय नै धराप हुने अवस्था हुन्छ । व्यवसायलाई धराप बनाउने र लगानीको वातावरण बिगार्ने काम सरकारबाट हुँदैन भन्ने हामीले आशा गरेका छौं । सरकारले लकडाउनको अवधीलाई शुन्य समय नमानी व्यवसाय तहसनहस हुने अवस्था आयो भने देशभरीका व्यवसायीलाई हामी आन्दोलनमा उतार्न बाध्य हुनेछौं ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *