काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने औपचारिक भ्रमणका लागि आज भारत पुग्दैछन्। नयाँदिल्लीमा उनको आगमनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय समयअनुसार अपराह्न ४ बजे दिल्ली अवतरण गर्ने पुटिन २८ घण्टे बसाइका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय वार्ता गर्नेछन्। शुक्रबार उनलाई औपचारिक स्वागत गरेपछि २३ औँ भारत–रूस शिखर वार्ता सुरू हुनेछ।
दिवाभोज, स्मृतिस्थल भ्रमण र राजकीय भोज
प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा पुटिन तथा उनका साथीस्तरीय प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नेछन्। पुटिन शुक्रबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पनि पुग्ने कार्यक्रम रहेको बताइएको छ।
शिखर वार्तापछि पुटिनले रूसको सरकारी प्रसारकको भारत च्यानलको औपचारिक सुरुवात गर्नेछन्। राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोज दिएपछि पुटिन शुक्रबार राति करिब ९स्३० बजे भारतबाट प्रस्थान गर्नेछन्।
व्यापार घाटा, तेल कारोबार र अमेरिकी प्रतिबन्धबारे पनि छलफल
भारतीय अधिकारीहरूका अनुसार शिखर वार्तामा रूसबाट कच्चा तेल आयातका कारण बढिरहेको भारतको व्यापार घाटा प्रमुख विषय बन्नेछ। साथै अमेरिकाले लगाइरहेको प्रतिबन्धले तेल कारोबारमा पार्न सक्ने प्रभावबारे पनि चर्चा हुने अपेक्षा गरिएको छ।
पुटिनले मोदीलाई युक्रेन युद्धसम्बन्धी नयाँ प्रयत्न र कूटनीतिक पहलबारे जानकारी गराउने सम्भावना भारतीय मिडियाले उल्लेख गरेका छन्।
कयौं सम्झौतामा हस्ताक्षरको तयारी
दुवै नेताबीच हुने वार्तामा भारतीय श्रमिकहरूको रूसप्रतिको पहुँच सहज बनाउने, रक्षा सहयोग विस्तार गर्ने, कृषि–खाद्य उत्पादन तथा उपभोक्ता वस्तुहरूको निर्यात बढाउनेजस्ता विषयमा सम्झौता हुने संकेत मिलेको छ। रूसले वर्षेनि भारतलाई ३०–४० लाख टन मल आपूर्ति गर्दै आएको हुँदा उर्वरक आपूर्तिमा थप सहकार्यका विषयमा पनि छलफल हुने बताइएको छ। शिक्षा, संस्कृति, व्यापार र कृषि क्षेत्रमा पनि समझदारीका कागजातमा हस्ताक्षर हुने सम्भावना छ।
शिखर बैठकअघि रक्षा मन्त्रिस्तरीय वार्ता
शिखर वार्ताअघि नै भारतीय रुस्ची रक्षामन्त्रीबीच बिहीबार भेटवार्ता हुनेछ। एस–४०० मिसाइल प्रणाली, लडाकु विमान उन्नयन र अन्य सैन्य सामग्री खरिद भारतको प्राथमिक एजेन्डामा रहेको भारतीय पक्षले जनाएको छ।
२०२१ पछि पुटिनको पहिलो भारत भ्रमण
भारत–रूसबीच हरेक वर्ष हुने शिखर बैठकको परम्पराअनुसार यो २३ औँ उच्चस्तरीय भेट हो। पुटिन सन् २०२१ मा अन्तिम पटक भारत आएका थिए, भने गत वर्ष प्रधानमन्त्री मोदी मस्को गएर वार्षिक बैठकमा सहभागी भएका थिए।




