विश्व

इन्डोनेसियामा ७६ रोहिङ्ग्या शरणार्थीलाई स्थानान्तरणका लागि स्वीकृति

बान्डा आचेह, इन्डोनेसिया। इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक पर्यटकीय तटमा डुङ्गाबाट आएका दर्जनौँ रोहिङ्ग्या शरणार्थीलाई स्थानीयले अवतरण गर्न अनुमति दिएपछि अस्थायी आश्रयस्थलमा सारिएको एक अधिकारीले बिहीबार बताएका छन् ।

म्यान्माको अल्पसङ्ख्यक मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेका कारण त्यहाँबाट शान्ति र रोजगारीको खोजीमा हरेक वर्ष हजारौँंले बङ्गलादेश, मलेसिया, इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।

चार बालबालिकासहित ७६ शरणार्थीको पछिल्लो समूहलाई बुधबार राति आचेह प्रान्तको पूर्वी आचेह शहरको एक फुटबल मैदानमा पाल टाँगी अस्थायीरूपमा बस्नदिने प्रशासनले स्वीकृति दिएको हो ।

स्थानीय प्रशासनका अधिकारी इस्कन्दरका अनुसार अधिकारीहरूले सुरुमा शरणार्थीहरूलाई भाग्नबाट रोक्न र केही स्थानीय बासिन्दाहरूले शहरमा उनीहरूको उपस्थितिको विरोध गरेका कारण उनीहरूलाई डुङ्गाबाट ओर्लिन वा सामुद्रिक किनारबाट बाहिर जानबाट रोकेका थिए।

इस्कन्दरले एएफपीसँग भने, “धेरै घण्टा पछि एक सहमति मा पुगिएको छ । शरणार्थीहरूलाई अब ओर्लिन शिविरभित्र बस्न अनुमति दिइनेछ ।”

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका प्रतिनिधिहरूले स्थानीय बासिन्दा र अधिकारीहरूसँग वार्ता गर्न त्यस क्षेत्रको भ्रमण गरेका थिए।

इस्कन्दरका अनुसार अस्थायी आश्रयस्थलको क्षमता सीमित भए पनि यो अझै पनि अस्थायी आश्रयस्थलका रूपमा पर्याप्त छ ।

थकित देखिएका तर गम्भीर अवस्थामा नरहेका ती शरणार्थीले म्यान्माबाट समुन्द्री मार्गबाट केही दिन यात्रा गरेको बताएका छन् ।

इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी आउने र जाडो महिनाहरूमा सुस्त हुन्छ र समुद्रको अवस्था शान्त हुँदा बढ्छ ।

यसै महिनाको सुरुमा २६० भन्दा बढी रोहिङ्ग्या शरणार्थी आचेहको समुद्री तटमा पुगेका थिए ।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आइपुगेका रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ।

धेरै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् तर कतिपयले उनीहरूको उपस्थितिलाई अस्वीकार गर्दै रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरू उपभोग गर्ने र कहिलेकाहीं स्थानीयहरूसँग द्वन्द्वमा आउने सम्भावनालाई देखाउँदै उनीहरूलाई स्वीकार्न नहुने बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *