
काठमाडौं । भारतमा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा परी मृत्यू हुनेको संख्या १९ पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान खुलेको छ भने चार जना नेपाली समेत रहेको बताइएको छ ।
प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क जारी राखेको छ । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट बाहिर उभ्रिन खोजेका थिए । सो कारण अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार सनाखत भएका चार जना नेपाली रहेका छन् । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी हुन् ।
यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।