क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार राजीनामा दिएका छन्।
उनले पत्रकार सम्मेलनमार्फत सत्तारुढ लिबरल पार्टीको नेताको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। योसँगै उनले प्रधानमन्त्रीको जिम्मेवारी गुमाएका छन्। नौ वर्षदेखि ट्रुडो क्यानडाका प्रधानमन्त्री थिए।
केही महिनादेखि ट्रुडोलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामा दिन दबाब दिइरहेका थिए। गत महिना सत्तारुढ दलकी अर्थमन्त्री क्रिस्टिया फ्रील्यान्डले पदबाट राजीनामा दिएकी थिइन्।
बुधबारको पार्टी बैठकमा पर्नसक्ने सम्भावित दबाब थेग्न ट्रुडोको राजीनामा आएको विश्लेषकहरुको आकलन छ।
उनले राजीनामा दिए पनि लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीको रूपमै रहिरहने छन्।
क्यानडामा आगामी अक्टोबर २० भन्दा अगाडि आम निर्वाचन गर्नुपर्ने बाध्यता छ। अहिले जारी पोल अनुसार ट्रूडोको लिबरल पार्टी विपक्षी कन्जरभेटिभ पार्टी भन्दा निकै पछाडि छ। ट्रूडो नेतृत्वमा २०२१ मा लिबरल पार्टीले बहुमत गुमाए पनि गठबन्धनको सरकारको नेतृत्व गरिरहेको थियो।




