काठमाडौं । म्यान्मारका अपदस्थ नागरिक नेता आङ सान सुकीलाई सैनिक सरकार (जुन्टा)ले नजरबन्दबाट हटाएर राजधानी नेपिटस्थित एउटा कारगारको एकान्तवासमा राख्न लगेको छ ।
सेनाले २०२१ को फेब्रुअरीमा जननिर्वाचित सरकार अपदस्थ गरेपछि ७७ वर्षीया शान्तिका लागि नोबेल पुरस्कार विजेता सुकीलाई गिरफ्तार गरिएको थियो । विगत एक वर्षदेखि उनलाई राजधानीकै एक अज्ञात स्थलमा थुनेर राखिएको हो । सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै सेनाले विद्रोह गरेर सत्ता कब्जा गरेको थियो ।
सुकीलाई यसअघि नै अदालतले एघार वर्ष लामो कारावास सजाय सुनाइसकेको छ । उनले भने आफूलाई लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै ती अभियोग राजनीतिक पूर्वाग्रहयुक्त भएको बताउँदै आएकी छन् ।




