एजेन्सी । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताले दिएको अभिव्यक्तिको संयुक्त अरब इमिरेट्स (यूएई) ले निन्दा गरेको छ।
भाजपा प्रवक्ता नुपुर शर्मा र नवीन जिन्दलले पैगम्बर मोहम्मदको विषयमा आपत्तिजनक बयान दिएका थिए। त्यसको मोहम्मदप्रति अपमानको यूएईले भत्र्सना गरेको हो।
यूएईको परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले विज्ञप्ति जारी गर्दै नैतिक र मानवीय मूल्यविपरीत हुने हरेक किसिम व्यवहारको दृढ भएर अस्वीकार गर्ने बताएको छ। मन्त्रालयले धार्मिक प्रतीकको सम्मान गर्नुपर्ने बताएको छ। आस्थाप्रति गरिने घृणायुक्त भाषण र हिंसाको मुकाबिला गर्नुपर्ने यूएईको भनाइ छ।
भाजपाले पैगम्बर मोहम्मदको विषयमा विवादित बयान दिने प्रवक्ता शर्मालाई आइतबार ६ वर्षका लागि पार्टीबाट निलम्बन गरेको छ। जिन्दललाई पनि पार्टीबाट निष्कासन गरेको छ। अरब देशहरूमा आक्रोश निम्त्याउने गरी अपमानजनक टिप्पणी गरेकाले उनीहरुलाई कारबाही गरिएको भाजपाले जनाएको छ।
यस्तै, अन्य अरब राष्ट्रहरूले समेत भारतविरुद्ध आधिकारिक रुपमै विरोध जनाएका छन्। पाकिस्तान र अफगानिस्तानले पनि कडा प्रतिक्रिया दिएका छन्।
कतार, कुवेत र इरानले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गराएका छन्। खाडी सहयोग परिषद् र इस्लामिक सहयोग संगठनले विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेका छन्। पछिल्लो समय भारतविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। केही अरब राष्ट्रमा भारतीय सामान बहिष्कारको आह्वानसमेत गरिएको छ ।




