विश्व

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद विघटन, चुनावको मिति घोषणा

लिस्बोन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् । उनले बिहीबार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मिति समेत तोकेका छन् ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्बोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्ने गरी मिति तोकिएको हो ।

देशमा उत्पन्न राजनीतिक संकट अन्त्यका लागि अहिलेको संसद्बाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्नुपरेको उनले उल्लेख गरेका छन् ।

सोसियलिस्ट पार्टी पीएस०को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसद्बाट अस्वीकृत भएपछि पोर्चुगलको राजनीतिक संकट नयाँ मोडमा पुगेको हो ।

पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलोपटक अहिले मात्रै संसद्बाट बजेट अस्वीकृत भएको अधिकारीले जनाएका छन् ।

संसद्बाट बजेट अस्वीकृत गरिएमा संसद् विघटन गरी निर्वाचनको घोषणा गर्ने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए ।

वर्तमान राजनीतिक संकट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *