बर्लिन । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टी ठुलो दल बनेको छ ।आइतबार सम्पन्न निर्वाचनमा सामाजिक प्रजातान्त्रिक पार्टीले २५.७ प्रतिशत मत प्राप्त गर्दै ठुलो दल बनेको छ ।
७०९ स्थानको लागि भएको निर्वाचनमा सामाजिक प्रजातान्त्रिक पार्टीले २०६ सिट जितेको छ । चुनाव पछि सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् ।
रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् । वर्तमान सरकारका अर्थमन्त्री समेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्ने बताए ।
स्कोल्जले अब चान्सलर मर्केलको ठाउ लिने अनुमान गरिएको छ ।
एंगेला मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक पार्टीले २४.१ प्रतिशत मत प्राप्त गर्दै १९६ सिट जितेको छ । त्यस्तै एनालेना बेएरबोकले नेतृत्व गरेको ग्रींस पार्टीले १४.८ प्रतिशत मत प्राप्त गर्दै ११८ सिट जितेको छ । त्यसैगरी फ्री डेमोक्रेटिक पार्टीले ९२ सिट र अल्टरनेटिभ फर जर्मनी पार्टीले ८३ सिटमा जित हासिल गरेका छन् ।
बहुमतको लागि ३५५ सिट आवश्यक पर्ने बुण्डेसटागमा २०१७ को आमनिर्वाचनमा मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनले २४६ सिटमा जित हासिल गरेको थियो । त्यस्तै सोसल डेमोक्रेटिक पार्टीले १५३ सिट जितेको थियो भने अल्टरनेटिभ फर जर्मनी पार्टीले ९४ सिटमा जित हासिल गरेको थियो ।
कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।




