काठमाडौँ । रुसले तत्काल अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिने भएको छ । रुसका विदेशमन्त्री सर्गेई लवरोफले तालिबान सरकारलाई मान्यता दिने विषय अहिले विचाराधीन समेत नरहेको टिप्पणी गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशमन्त्री सर्गेईले संयुक्त राष्ट्रसंघको महासभामा यस्तो धारणा राखेका हुन् ।
तालिबानले संयुक्त राष्ट्रसंघका लागि आफ्नो राजदुत नामांकित गरेका बेला रुसको यस्तो प्रतिक्रिया आएको हो ।
विदेशमन्त्री सर्गेईले भनेका छन्- ‘तालिबानलाई अन्तर्राष्ट्रिय मान्यताको प्रश्न अहिलेलाई विचाराधीन छैन ।’
तालिबानका विदेशमन्त्री आमिर खाँ मुक्तकीले आफ्नो दोहा कार्यालयका प्रवक्ता सुहैल शाहीनलाई संयुक्त राष्ट्रसंघमा अफगानिस्तानको राजदुत तोकेका छन् ।
तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि चीन, रुस, कतार र पाकिस्तान जस्ता देशहरुले तालिबानप्रति नरम प्रतिक्रिया दिदै आएका छन् ।
रुस चीनसँगै संयुक्त राष्ट्रसंघको क्रेडन्सियल कमिटीमा रहेका छन्, जसले तालिबानलाई संयुक्त राष्ट्रसंघमा मान्यता दिने या नदिने विषयमा फैसला गर्ने छ ।




