काठमाडौं । तालिवानले अफगानिस्तानको पञ्जशिर उपत्याका समेत कब्जा गरेको दाबी गरेको छ ।
विद्रोही तालिवानले राजधानी काबूल कब्जा गरेको केहीदिनमै पञ्जशिर उपत्याका समेत कब्जा गरेको दाबी गरेको छ ।
तालिवानको एउटा समुहले पञ्जशिर कब्जा गर्न सफल भएको भन्दै झण्डा गाडेका छन् । तर त्यहाँ रहेको तालिवानविरोधी समुहले भने अहिले समेत आफ्नै नियन्त्रणमा उपत्याका रहेको दाबी गरेको छ ।
पञ्जशिरमा उपत्यकामा रहेको नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान(एनआरएफ) ले तालिवानको दाबी गलत रहेको बताएको छ ।
पञ्जशिर २० वर्षअघि तालिवानले अफगानिस्तानको सरकार सञ्चालन गर्दा समेत वेग्लै एनआरएफकै नियन्त्रणमा थियो । त्यसबाहेक सोभियत संघले अफगानिस्तानमा शासन गर्ने समयमा समेत पञ्जशिर स्वतन्त्र रहेको थियो ।
झण्डै दुईलाख जनसंख्या रहेको पञ्जशिर अफगानिस्तानको राजधानी काबूलबाट झण्डै एक सय २० किलोमिटर उत्तरतर्फ रहेको हिमाली उपत्यका हो ।




