काठमाडौं । अमेरिकी गुप्तचर संस्था सिआइए प्रमुख विलियम वर्नस र अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिवानका उपप्रमुख मुल्लाह बरादरका बिचमा गोप्य भेटवार्ता भएको छ ।
पछिल्लो २० वर्षदेखि अमेरिकाविरुद्ध संघर्ष गर्दै आइरहेको तालिवानले यसै महिना अफगानिस्तानको सत्ता कब्जा गरेको थियो । सत्ता कब्जापछि पहिलोपटक अमेरिकी उच्च अधिकारी र तालिवानी नेताका बिचमा भेटवार्ता भएको वीवीसीले जनाएको छ ।
विविसीका अनुसार दुईजनाका बिचमा भएको भेटवार्ताको औपचारिक पुष्टि भने हुन सकेको छैन । यसअघि सत्ता कब्जा गरेको तालिवानले आगामी एकसाताभित्र अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता गर्न चेतावनी दिएको थियो ।
तालिवानी उपप्रमुख बरादरलाई अमेरिकाले झन्डै ११ वर्षअघि संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो । अहिले भने अमेरिकाले उनै बरादरसँग गोप्य छलफल गरेको अन्र्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ ।




