इरानमा इब्राहिम रइसी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन । रइसी निर्वाचित भएको चुनाव बारे प्रतिक्रिया दिंदै इजरायलले यो चुनावबारे अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ।
इजरायलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन्।
ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै विश्व समुदायलाई सजग गराएका छन्।
रइसीलाई आजै इरानको नयाँ राष्ट्रपतीय चुनावको विजेता घोषणा गरिएको हो।
इरानमा राष्ट्रपति सर्वोच्च नेतापछिको दोस्रो वरीयतामा हुन्छन्।
इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ।
रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नेछन्। राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ।
तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खुमेनेईको हुने गर्छ।
अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्छन्।
अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए।
चुनाव जितेपछि उनले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गरेका छन्।




