केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन् । उनले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति केन्याटाले देशका सवै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताए ।
पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यामा ५२ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भने ।
पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो ।
आगामी जुन महिनासम्म पहिलो चरणको खोप अभियान जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिलो चरणमा खोपका लागि उच्च प्राथमिकतामा परेका समुदायलाई खोप लगाइने भएको छ । सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गरेको छ ।
केन्यामा अहिलेसम्म एक लाख २६ हजार १७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ९२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने केन्यामा ९२ हजार २ सय ६८ रहेको अधिकारीहरुले जनाएका छन् ।




