भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा करिब ४७ हजार जना संक्रमित भएका छन् ।
गत २४ घन्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सबभन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये तीन लाख ३४ हजार ६ सय ४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड ११ लाख ५१ हजार ४ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घन्टामा ८ सय २३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना सुरु भएदेखि यता हालसम्म १० हजार ९ सय ५६ जनाको मृत्यु भइसकेको छ ।




