विश्व

गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

कङ्गो । मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् ।

यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ जना प्रतिस्पर्धी छन् । एन्गुसोका मुख्य प्रतिस्पर्धी ठानिएका गुए–ब्राइस पार्फेट कोलेलास गम्भीर स्वास्थ्य समस्या देखाउँदै चुनावी मैदानबाट अलग भएका छन् ।

पूर्व सैनिक एन्गुसो सन् १९७९ मा पहिलो पटक सत्तामा आएका थिए । त्यसयता उनी ३६ वर्ष कङ्गोको शासनमा छन् । उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने एक नेता बनेका छन्।

मध्य अफ्रिकाको तेल निर्यातक मुलुक कङ्गोको चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका एन्गुसोले पहिलो चरणमै आफू विजयी हुने अपेक्षा गरेका छन् । कङ्गोको संविधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा दोस्रो चरणको मतदान हुने व्यवस्था छ ।

यसैबीच, एन्गुसोलाई चुनौती दिने ठानिएका मुख्य प्रतिस्पर्धी कोलेलासले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै आफू गम्भीर बिरामी भएको र “जीवन र मृत्युको दोसांधमा पुगेको” बताएका छन् ।

कोलेलासको चुनावी अभियानले ६० वर्षीय आफ्ना नेतामा के रोग लागेको छ भन्ने केही बताएको छैन । उनीहरुको भनाईमा थप उपचारका लागि नेता कोलेलासलाई विदेश लैजाने तयारी गरिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा दोस्रो स्थान हासिल गर्नु भएका कोलेलासले यसपटक राम्रै नतिजा हासिल गर्ने अनुमान गरिएको थियो ।

कङ्गोको क्याथोलिक चर्चले यसपटक पनि राष्ट्रपतिको चुनावमा धाँधली हुने खतरा देखिएको भन्दै आपत्ति जनाएको छ । सन् २०१६ झैं आइतबारको चुनावअघि देशव्यापी इन्टरनेट बन्द गर्न लागिएको र मतदानको पारदर्शिता शंकास्पद रहेको चर्चको भनाई छ ।

सबैभन्दा ठूलो विपक्षी समूह प्यान–अफ्रिकन युनियन फर सोसल डेमोक्रेसी (युप्याड)ले पनि चुनाव बहिस्कार गरेको छ । पूर्व राष्ट्रपति पास्कल लिस्सोबाले खोलेका युप्याडबाट राष्ट्रिय सभामा मुख्य विपक्षीको रुपमा प्रतिनिधित्व रहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र ग्याबोनले घेरिएको यस पूर्व फ्रान्सेली उपनिवेशको मुख्य आम्दानीको स्रोत खनिज तेल हो ।

सन् १९७९ मा पहिलो पटक सत्तामा आएका एन्गुसो सन् १९९१ मा बहुदलीय प्रतिस्पर्धाका लागि राजी हुनु भएको थियो । अर्को वर्ष भएको चुनावमा उहाँ र उहाँको पार्टी पराजित भएको थियो ।

गृहयुद्धमा फँसेको कङ्गोमा सन् १९९७ मा उहाँ पुनः सत्तामा आएका थिए । त्यसयता उहाँ लगातार विजयी हुँदै आएका छन् ।

सन् २०१५ मा भएको संविधान संशोधनले ७० वर्षभन्दा माथिका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने र दुई वर्ष कार्यकाल पनि हटाएपछि एन्गुसो पुनः उम्मेदवार भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *