भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमित ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।
देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमित रहेको अधिकारीको भनाइ छ ।
भारतमा अहिले पनि एक लाख ५१ हजार ७ सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३७ प्रतिशत मात्रै हो ।
पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको र मृत्यु भएकाहरुको सङ्ख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो २४ घन्टामा भारतमा १६ हजार ७ सय ३८ जना नयाँ सङ्क्रमित भएका छन् । तीमध्ये ८९.५७ प्रतिशत सङ्क्रमित सात प्रदेशका रहेका छन् ।
भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९ सय १४ जना सङ्क्रमित भएको र कुल एक लाख ५६ हजार ७ सय ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




