भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १२ हजार ४ सय ८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख २ हजार ५ सय ९१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण १ सय २० जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८ सय २३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १ सय ५८ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र सात जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८ सय ७१ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख १५ हजार ७ सय ७६ व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ ।




