विश्व

‘अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि भेनेजुयला इच्छुक’

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउससँग वर्षौंको तनावपछि राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिका–भेनेजुयलाबीच ‘नयाँ मार्ग’ स्थापनाका लागि आफू इच्छुक रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले दोहो-याएका छन् ।

“हामी राष्ट्रपति जो बाइडेनको सरकारसँग आपसी सम्मान, वार्तालाप, सञ्चार र समझदारीमा आधारित हाम्रो सम्बन्धको नयाँ धारमा चल्न इच्छुक छौँ,” भेनेजुयलाका वामपन्थी नेता मदुरोले आफ्ना समर्थकलाई गरेको एक सम्बोधनमा शनिबार बताए। उनले थपे, “नयाँ अमेरिकी प्रशासनसँग दुई मुलुकबीचको सम्बन्धमा विगतलाई परिवर्तन गर्न भेनेजुयला तयार छ ।”

ट्रम्प प्रशासनले भेनेजुयलाका वामपन्थी नेता मदुरोलाई सत्ताबाट हटाउन भेनेजुयलाविरूद्ध सन् २०१९ देखि प्राकृतिक ग्यास र तेलको कारोबारलगायतका कैयौँ आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो । मदुरोलाई अमेरिकाले एक ‘तानाशाह’ का रूपमा हेर्ने गर्छ । वर्षौंको चीसो सम्बन्धपछि अमेरिकी सरकारले विपक्षी नेता जुआन गुएइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि कराकस र वाशिङ्गटनबीच जनवरी २३, २०१९ मा कूटनीतिक सम्बन्धलाई पूर्णरूपमा तोडिएको थियो ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि मदुरोले लामो समयदेखि अमेरिकामा राजनीति गरेका बाइडेनलाई बधाइ दिएका थिए। भेनेजुएला ‘संयुक्त राज्य अमेरिकाको जनता र सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न तयार रहेको बताउँदै डिसेम्बरमा मदुरोले पुनः आफ्ना भनाइलाई दोहो -याएका थिए।

बाइडेन प्रशासनले भेनेजुएलाबारे निकै नरम अडान लिनेछ र नयाँ सङ्क्रमणकालीन सरकार निर्माणका लागि अन्तर्राष्ट्रिय मध्यस्थतामा अघि बढ्ने विश्वास विश्लेषकहरूले लिएका छन् । यद्यपि बाइडेनको विदेशमन्त्री मनोनीत एन्थोनी ब्लान्केनले मदुरोलाई यसपहिले ‘क्रुर तानाशाह’को रूपमा वर्णन गर्ने गरेका थिए । उनले सिनेटमा भएको आफ्नो पुष्टिकरण सुनुवाइमा गुएइदोलाई समर्थन गर्ने ट्रम्पको नीतिलाई अँगाल्ने कुरा बताएका थिए ।

भेनेजुएलाको राष्ट्रिय सभाको नेतृत्व (सभामुख) मा मदुरो पक्षधर उम्मेदवारलाई शपथ खुवाइएपछि गुएइदोेलाई नै समर्थन गर्ने अमेरिकी नीतिलाई अमेरिकाले नवीकरण गरेको थियो । डिसेम्बरमा भएको निर्वाचनमा गुएइदोको विपक्षी दलले निर्वाचनको निष्पक्षतामाथि प्रश्न गर्दै बहिष्कार गरेको थियो ।

राष्ट्रिय सभाका पूर्व अध्यक्ष (सभामुख) गुएइदोेलाई नयाँ संसदले प्राविधिकरूपमा जिम्मेवारीबाट हटाएको छ । यद्यपि उनले विदेशी समर्थन लिई छाँया विपक्षी सांसदहरूको समानान्तर निकाय कायम गर्ने योजना बनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार २०१५ पछि पाँचलाख भन्दा बढी भेनेजुएलीहरू राजनीतिक र आर्थिक उथलपुथलको कारण विस्थापित बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *