विश्व

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताहरुबाट बधाई

संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधवार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् ।

विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन् ।

यूरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिंदै भनेका छन्, “यूरोपेली यूनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।”
यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेकी छन्, “नयाँ बिहानी, नयाँ शुरुआतका लागि यूरोप तयार छ ।”

इरानका राष्ट्रपति हस्सन रौहानीले पनि ट्रम्पको पलायनबाट आफूहरु खुशी भएको बताएका छन् । उनले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दीहरु फुकुवा हुने विश्वास व्यक्त गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गरेका छन् ।
नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र यूरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो यूरोप र अमेरिका दुबैका लागि हितकर रहेको बताएका छन् ।

उनले नेटोका गठबन्धन मुलुकहरुले चीनको तिब्र विकास, अफगानिस्तान र इराक समेतमा आतंकवादको चुनौती तथा रशियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताए।

पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर “भाइचारा र शान्ति” लाई प्रबर्द्धन गर्न आग्रह गरेका छन् । जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन् “अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।” उनले भने, “हामी सँगै, साथमा छौं । हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं । हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनु पर्नेछ । पेरिस सम्झौतामा पुनः स्वागत छ ।”

डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताएका छन् ।

उनले भनेका छन्, “कोभिड विरुद्धको संघर्ष, जलवायू, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन् । विश्वमा प्रजातन्त्रको प्रबर्द्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, “संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनु भएकामा आफ्ना तर्फबाट बाइडेनलाई न्यानो बधाई । भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु ।”

ैयसैगरी जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिंदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाएका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतिक्षा गरिरहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *