काठमाडौँ । गुजरातको सुरतमा कोसाम्बाको नजिक राति सडक किनारामा सुतिरहेका कामदारमाथि ट्रक गुड्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
प्रहरीको अनुसार, मित्यु हुने सबैजना कामदार, राजस्थानका बाँसवाडा जिल्लाको कुशलगढका बासिन्दा थिए ।
ट्रक उखुले भरिएको एक ट्रयाक्टरसंग ठोकिएपछि अनियन्त्रित भएर फुटपाथमा चढ्यो जहाँ कामदारहरु सुतिरहेका थिए । घटनाको समयमा फुटपाथमा १८ जना सुतिरहेका थिए र १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
उक्त घटनामा छ जना गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएका मानिसको मृत्युमा दु:ख व्यक्त गरेका छन् ।
साथै प्रधानमन्त्री राष्ट्रिय कोषबाट दुई लाख भारतीय रुपैयाँ मृतक परिवारलाई क्षतिपूर्तिको रुपमा प्रदान गर्ने घोषणा गरेका छन् । साथै उनले घाइते अन्य मानिसलाई ५० हजार भारतीय रुपैयाँ दिने बताएका छन् ।




