विश्व

भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित, १९ जनवरीमा फेरि वार्ता हुने

भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ ।

कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।

सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवौँ पटक वार्ता भएपनि सहमति हुन नसकेको हो ।

शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ ।

किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले तीन ओटै कानुन खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए ।

“आज कुनै सहमति हुन सकेन, त्यसैले हामी फेरि यही जनवरी १९ तारिखको मध्यान्ह १२ बजे भेट्नेगरी छुट्टिएका छौँ,” शुक्रबार उनले भने ।

भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत प्रदर्शन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *