विश्व

पाकिस्तानको ठूलो क्षेत्रमा अवरूद्ध विद्युतलाई क्रमशः सञ्चालनमा ल्याइँदै

विद्युत् प्रणालीमा ‘प्राविधिक कारण’ कारण शनिबारदेखि अवरुद्ध सेवा पाकिस्तानका प्रमुख ठूला शहरहरूमा आइतवार बिहानदेखि क्रमशः सञ्चालनमा आउन थालेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पछिल्लो ‘ब्ल्याकआउट’ दक्षिणी पाकिस्तानमा शनिबार स्थानीय समय अनुसार ११ः४१ मिनेटमा भएको थियो । सेवा अवरूद्ध हुनाको कारण ‘ईन्जिनियरिङ समस्या’ भएको विद्युत् प्राधिकरणका अधिकारीहरूले बताएका छन् । ‘प्राविधिक समस्याका कारण विद्युत् प्रणालीलाई छिन्नभिन्न बनाएको र विद्युत् उत्पादन तथा सम्प्रेषण सेवालाई प्रभावित बनाएको छ,’ पाकिस्तानी ऊर्जा मन्त्री उमर अयूब खानले आइतबार पत्रकार सम्मेलनमा भने ।

“हाम्रा विज्ञहरूले समस्या रहेको स्थान एकीन गर्ने प्रयास गरिरहेका छन्,” खानले भने। “सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्त र दक्षिणको आर्थिक केन्द्र कराँचीका अधिकांश स्थानमा सेवा सुचारु गरिसकिएको छ ।”

उनले भने, “जङ्गली क्षेत्रमा घना कुहिरोका कारण अझै समस्यालाई पत्ता लगाई सेवालाई पूर्णरूपमा सञ्चालन गर्न थप केही घण्टा लाग्नसक्ने प्राविधिकहरूले बताएका छन् ।”

उनले आइतबार साँझसम्म सेवा पुनः सञ्चालनमा विश्वास गरिएको बताए । केही थर्मल प्लान्ट र आणविक प्लान्टलाई सञ्चालनमा ल्याउन केही समय लाग्नसक्ने देखिएको उहाँले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

विद्युत् प्रणालीमा आएको उक्त समस्याले पाकिस्तानको इतिहासमा अहिलेसम्मकै नराम्रो असर पारेको बताइएको छ ।

इस्लामाबादलगायत देशभरका प्रमुख शहरहरूमा बिजुली कटौती हुँदा पाकिस्तानकोे एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई पनि असर पुर्याएको बताइएको छ ।

२१ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा विद्युत् वितरण प्रणाली एक जटिल तथा कमजोर सञ्जाल रहेको छ । यहाँ ग्रिडको एक खण्डमा आउनसक्ने समस्याले देशव्यापीरूपमा सेवा अवरुद्ध हुनसक्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *