मस्को । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ ।
खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।
कोरोना भाइरसविरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए ।
खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुतनिक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए ।
रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ ।
रुसी अरु विज्ञ अधिकारीहरूले पनि कोरोनाविरुद्धका अन्य खोपको तुलनामा स्पुतनिक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् ।
कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा संक्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ ।
कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपङ्क्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी संक्रमित भएका छन् भने ५९ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट विश्वभरि अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस संक्रमित भएका छन् । कोरोनाका कारण विश्वभरि अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।




