अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बसेका छन् । उनी सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा ख्रीष्टमसका अवसरमा बुधबार आयोजित विशेष समारोहमा पनि अनुपस्थित भएका थिए ।
धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिपछि उनको सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उनी उपस्थित हुन नसकेको जानकारी दिएको छ ।
“संक्रमणसम्बन्धी समस्याका कारण उहाँ सो समारोहमा उपस्थित हुन असमर्थ हुनुभयो, उहाँ अहिले सेल्फ आइसोलेसनमा हुनुहुन्छ,” प्रधानमन्त्री पशिन्यानका सञ्चार सचिव मान गेभोग्र्यानले भने ।
उनकाअनुसार प्रधानमन्त्री पशिन्यान यसअघि गत जुनको अन्त्यतिर पनि कोरोना भाइरसबाट संक्रमित भएकोमा अहिले फेरी संक्रमणको घेरामा परेका हुन् ।
सीमा क्षेत्रमा विवादको समस्या झेल्दै आएको अर्मेनियाको त्यहीसम्बन्धी गतिविधिमा संलग्न भएका बेला उनी पुनः संक्रमणको घेरामा परेको सञ्चार सचिव गेभोग्र्यानले जानकारी दिए ।
अर्मेनियाको सरकारी निकायले बुधबार दिएको जानकारीअनुसार अर्मेनियामा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् भने दुई हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।




